काठमाडौं । प्रधानमन्त्री बालेन शाहले कालो चश्मा लगाउनुपर्ने स्वास्थ्य अवस्थासम्बन्धी परीक्षण रिपोर्टसहितको पत्र संघीय संसद् सचिवालयमा पठाएका छन्।
प्रधानमन्त्री शाहले कालो चश्मा लगाउनुपर्ने कारण खुलाइएको स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र संसद् सचिवालयमा पुगेको सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गरेका छन्।
यसअघि सभामुख डोलप्रसाद अर्याल (डीपी) ले संसद् बैठकमा कालो चश्मा लगाउने विषयमा प्रमुख सचेतक र सचेतकमार्फत सांसदहरूलाई जानकारी गराएका थिए। स्वास्थ्यका कारण कालो चश्मा लगाउनुपर्ने भए त्यससम्बन्धी स्वास्थ्य परीक्षण रिपोर्ट पेश गर्नुपर्ने व्यवस्था गरिएको थियो।
सोही व्यवस्थाअनुसार प्रधानमन्त्री शाहले आफूलाई कालो चश्मा लगाउनुपर्ने स्वास्थ्य अवस्थाबारे परीक्षण रिपोर्टसहितको पत्र संसद् सचिवालयमा पठाएका हुन्।
प्रधानमन्त्री शाह बुधबार प्रतिनिधिसभाको बैठकमा आयोजना हुने प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदैछन्। उक्त कार्यक्रममा ११ जना सांसदले प्रधानमन्त्रीलाई विभिन्न विषयमा प्रश्न सोध्ने तयारी गरेका छन्।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ। सो व्यवस्थाअनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्नेछन्।
यसै व्यवस्थाअनुसार बुधबारका लागि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको हो।
नियमावलीमा उक्त कार्यक्रम सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था पनि छ। साथै, प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा तीन दिनअघि नै आफ्नो प्रश्नको विषय लिखित रूपमा सभामुखसमक्ष जानकारी गराउनुपर्ने प्रावधान रहेको छ।
सोहीअनुसार सभामुख अर्यालले प्रधानमन्त्रीलाई प्रश्न सोध्न चाहने सांसदलाई भदौ ५ गतेभित्र प्रश्न दर्ता गराउन समय दिएका थिए। निर्धारित समयभित्र ११ जना सांसदले आफ्ना प्रश्न दर्ता गराएका हुन्।
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन संसद् भवन पुग्दा कालो चश्मा लगाउनुपर्ने भएकाले प्रधानमन्त्री शाहले त्यससम्बन्धी स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र संसद् सचिवालयमा पठाएको बताइएको छ।




















