काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले बालिका गरिमा चौधरीको घटनासँग सम्बन्धित भिडियोहरू सार्वजनिक गरिएको विषयमा आपत्ति जनाएका छन्। उनले पीडित परिवारका सदस्यको भिडियो गृह मन्त्रालयमै खिचेर सार्वजनिक गर्नु र आरोपितको अस्पतालमा सोधपुछ गरिएको भिडियो सार्वजनिक गर्नु गलत अभ्यास भएको बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै महामन्त्री आचार्यले गरिमा हत्याकाण्डबारे आफू धेरै नबोले पनि घटनासँग जोडिएका व्यक्तिको भिडियो सार्वजनिक गर्ने प्रवृत्तिमाथि समाजले गम्भीर रूपमा सोच्नुपर्ने बताएका हुन्।
‘गरिमा हत्याकाण्डको बारेमा जे भयो, त्यसका बारेमा धेरै बोलिनँ,’ उनले भने, ‘तर हामी सबै जनाले मनन गर्नुपर्ने के हो भने हामीले कस्तो समाज बनाइरहेका छौँ ? जहाँ मृतकको बुबाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र कहीँ मेडिकल गर्दै गर्दा एउटा आरोपितले बोलेका कुराहरूलाई सार्वजनिक रूपमा राखिन्छ। यस्तो समाज बन्द गरिनुपर्छ।’
प्रहरीका अनुसार साउन ३१ गते बिहान जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरी घरबाटै हराएकी थिइन्। आमा मानमतिले करिब साढे तीन घण्टासम्म बालिकालाई नदेखेपछि सिमरा र पथलैया प्रहरीलाई जानकारी गराएकी थिइन्।
बालिका हराएको केही दिनपछि उनको शव फेला परेको थियो। घटनाले व्यापक चासो पाएपछि संघीय सरकारले समेत यस विषयमा चासो देखाएको थियो।
त्यसपछि गरिमाका बुबा मनोज चौधरी र आमा मानमती चौधरीलाई काठमाडौं बोलाइएको थियो। गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङसहितको टोलीसँग भएको छलफलका क्रममा उनीहरूले सरकारले आफ्नो कुरा सुनेको भन्दै सरकारको पहलप्रति खुसी व्यक्त गरेका थिए। सोही क्रममा खिचिएको उनीहरूको भिडियो सार्वजनिक भएपछि त्यसलाई लिएर प्रश्न उठेको हो।
महामन्त्री आचार्यले गरिमाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिको भिडियो सार्वजनिक गरिएको विषयमा पनि आपत्ति जनाएका छन्।
सार्वजनिक भिडियोमा हातमा हतकडी लगाइएका आरोपित किशोरसँग अस्पतालमा सोधपुछ गरिएको दृश्य देखिन्छ। भिडियोमा दुई जना प्रहरीसमेत देखिएका छन्। उक्त भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयले समेत घटनाबारे चासो देखाएको बताइएको छ।
यही विषयलाई प्रतिनिधिसभामा उठाउँदै आचार्यले अनुसन्धानको क्रममा रहेका आरोपितलाई सार्वजनिक रूपमा भिडियोमार्फत प्रस्तुत गर्ने अभ्यासमाथि प्रश्न उठाएका हुन्।
पीडित परिवारको भावनात्मक अवस्थासँग जोडिएको भिडियो सरकारी मन्त्रालयबाटै सार्वजनिक हुनु र अनुसन्धानको दायरामा रहेको आरोपितको अस्पतालभित्रको भिडियो बाहिरिनु दुवै विषयले गोपनीयता, अनुसन्धान प्रक्रिया र जिम्मेवार सार्वजनिक अभ्यासमाथि प्रश्न उठाएको आचार्यको भनाइ थियो।




















