काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार निर्वाचित अधिनायकवादतर्फ उन्मुख भइरहेको आरोप लगाएका छन्। संसदभित्र सरकारको स्वेच्छाचारितालाई रोक्ने बलियो विकल्पसमेत कमजोर रहेको उनले बताएका छन्।
काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले मुलुक यतिबेला अत्यन्तै असामान्य परिस्थितिबाट गुज्रिरहेको टिप्पणी गरेका हुन्।
लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान, राष्ट्रियता तथा नागरिकले उपभोग गर्दै आएको लोकतान्त्रिक खुलापन गम्भीर संकटमा परेको उनको भनाइ थियो।
ठूलो जनादेशसहित सत्तामा पुगेको सरकारले पछिल्ला पाँच महिनामा अधिनायकवादी चरित्र देखाउन थालेको ज्ञवालीले आरोप लगाए।
‘गएका पाँच महिनाका लक्षणहरूले प्रस्ट देखाएका छन् कि यो सरकार एउटा निर्वाचित अधिनायकवादतर्फ उन्मुख भइरहेको छ,’ उनले भने, ‘जसका निम्ति राष्ट्रपति संस्थाको पनि कुनै महत्त्व छैन, संसदको पनि कुनै अर्थ छैन र आफ्नै पार्टीको समेत कुनै सरोकार छैन।’
सरकारले आफूलाई प्रधानमन्त्री बनाउने दल, न्यायालय, अन्य राजनीतिक दल तथा सञ्चारमाध्यमजस्ता लोकतान्त्रिक संस्थालाई समेत क्रमशः किनारमा पार्दै लगेको उनको आरोप थियो।
‘मिडियालगायत यी सबै संस्थालाई किनार लगाउँदै बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार अगाडि बढिरहेको छ,’ ज्ञवालीले भने।
संसदभित्रको वर्तमान शक्ति सन्तुलन सरकारका लागि अनुकूल रहेकाले स्वेच्छाचारितालाई नियन्त्रण गर्ने प्रभावकारी विकल्प कमजोर बनेको उनले बताए। पछिल्लो निर्वाचनबाट सरकारले झन्डै दुईतिहाइको जनादेश प्राप्त गरेकाले भविष्यमा संविधानमै प्रतिगामी संशोधन हुन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे।
‘संसदभित्रबाट त्यो अधिनायकवादलाई रोक्ने बलियो विकल्प छैन,’ उनले भने, ‘उसले भोलि प्रतिगामी संशोधन गर्न चाहँदा राष्ट्रिय सभाले केही हदसम्म सन्तुलनको भूमिका खेल्ला, तर प्रतिनिधि सभाको शक्ति सन्तुलन अत्यन्तै प्रतिकूल अवस्थामा छ।’
संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका राजनीतिक शक्तिहरूको संसदमा उपस्थिति कमजोर रहेको उल्लेख गर्दै ज्ञवालीले त्यसले लोकतान्त्रिक व्यवस्था र संवैधानिक उपलब्धिमाथि थप चुनौती सिर्जना गरेको बताए।
संविधान, लोकतान्त्रिक प्रणाली र राष्ट्रियताको रक्षा गर्न लोकतान्त्रिक तथा परिवर्तनका पक्षधर शक्तिहरूले गम्भीरतापूर्वक सहकार्य र एकताबारे सोच्नुपर्ने उनको भनाइ थियो।




















