काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। काठमाडौंको चमतिस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा महामन्त्री विपिनकुमार आचार्यले बैठकका एजेन्डा प्रस्तुत गरिरहेका छन्।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि १२ गतेसम्म चितवनमा सम्पन्न भएपछि बसिरहेको यो दोस्रो केन्द्रीय समिति बैठक हो। यसअघि साउन १४ गते पहिलो केन्द्रीय समिति बैठक बसेको थियो।
आजको बैठकमा पार्टीका पदाधिकारी, सचिवालय सदस्य तथा केन्द्रीय सदस्यहरूको मनोनयनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ। रास्वपा विधानअनुसार सभापति रवि लामिछानेले विभिन्न पदमा मनोनयनका लागि प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गर्ने र बैठकले त्यसलाई अनुमोदन गर्ने व्यवस्था छ।
बैठकमा विभिन्न विभागका प्रमुख मनोनयन गर्ने विषय पनि रहेको बताइएको छ।
यद्यपि, पार्टीको महत्त्वपूर्ण केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ भने सहभागी भएका छैनन्। उनी शुक्रबार बिहानै स्थलमार्गबाट पोखरातर्फ प्रस्थान गरेका कारण बैठकमा अनुपस्थित भएका हुन्।
शाहलाई गत साउन १३ गते बसेको रास्वपाको बैठकले वरिष्ठ नेता मनोनित गर्ने निर्णय गरेको थियो। उनी रास्वपा संसदीय दलका नेता समेत हुन्।
काठमाडौँ महानगरपालिकाको प्रमुख पद त्यागेर गत पुस १३ गते आफ्नो समूहसहित रास्वपामा एकताबद्ध भएका शाहलाई पार्टीले त्यसबेला पनि वरिष्ठ नेताका रूपमा अघि सारेको थियो। पहिलो महाधिवेशनपछि रास्वपाले साउन १३ गते उनको वरिष्ठ नेता पदलाई पुनः औपचारिकता दिएको थियो।
तर बालेन पार्टीका वरिष्ठ नेता भएपनि त वैठकमा जानछन् न त कार्यालय नै । संसदीय दल नेता वालेन दलको वैठक समेत जादैनन् । उनी आज पनि पार्टीको केन्द्रीय कमिटी वैठकमा सहभागी भएर पनि पोखरा जान सक्थे । तर वैठकमा सहभागी नहुनकै लागि उनी विहानै स्थलमार्ग हुँदै पोखरातिर लागेको एक नेताले गुनासो गरेका छन् ।




















