काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ। बैठक वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय घण्टीघरमा बिहान ११ बजेका लागि बोलाइएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्तावेज, साङ्गठनिक व्यवस्थापन तथा विभिन्न पदमा मनोनयन, योजना, कार्यक्रम र अभियानलगायत विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।
बैठकमा पार्टीका दस्तावेजअन्तर्गत स्थानीय तह निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका विषयमा छलफल हुने जनाइएको छ।
त्यस्तै, साङ्गठनिक व्यवस्थापन तथा मनोनयनतर्फ केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखहरूको मनोनयनसम्बन्धी विषय पनि कार्यसूचीमा समेटिएको छ। स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन तथा त्यसका सदस्य मनोनयनबारे समेत बैठकमा निर्णय हुने सम्भावना छ।
योजना, कार्यक्रम तथा अभियानअन्तर्गत केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यहरूको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल गरिनेछ।
यस्तै, पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावसमेत आजको केन्द्रीय समिति बैठकको कार्यसूचीमा रहेको महामन्त्री आचार्यले जानकारी दिएका छन्।




















