काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद मोहम्मद इस्तियाक राईले पासपोर्ट खरिद प्रकरणबारे प्रधानमन्त्री बालेन शाहलाई संसदीय समितिमा बोलाएर छलफल गर्नुपर्ने प्रस्ताव गरेका छन्।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले पासपोर्ट खरिदसँग सम्बन्धित विषय बाहिर आइसकेको उल्लेख गर्दै प्रधानमन्त्रीसँग यसबारे स्पष्ट जवाफ माग्नुपर्ने बताएका हुन्।
‘पासपोर्ट खरिदको विषय बाहिर जो आयो, यसबारे प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्छ,’ उनले बैठकमा भने।
सांसद राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारसँग सम्बन्धित विषयमा पनि सरकारसँग जवाफ मागेका छन्। उनले अख्तियारको क्षेत्राधिकार मिच्ने गरी सरकारले आफ्नो मातहतमा छुट्टै सम्पत्ति छानबिन आयोग गठन गरेको विषयमा समेत स्पष्ट हुनुपर्ने बताए।
त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर लामो समयसम्म केरकार गरिएको भनिएको विषयमाथि पनि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको माग छ।
सरकारमाथि निगरानी राख्ने तथा शक्ति सन्तुलन कायम गर्ने उद्देश्यले स्थापित संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीका सहयोगीहरूले कार्यालयमा घन्टौंसम्म राखेर केरकार गरेको भन्ने विषय सार्वजनिक भएपछि यसबारे प्रश्न उठ्दै आएको छ।
यही पृष्ठभूमिमा सांसद राईले पासपोर्ट खरिद प्रकरण, सम्पत्ति छानबिन आयोग गठन तथा अख्तियारका पदाधिकारीसँग प्रधानमन्त्री कार्यालयमा गरिएको भनिएको सोधपुछका विषयमा प्रधानमन्त्रीलाई संसदीय समितिमा बोलाएर जवाफ माग्नुपर्ने प्रस्ताव राखेका हुन्।




















