काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाउँदै उक्त निकाय प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग हो भनेर प्रश्न गरेका छन्।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भने, “अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ?”
सिंहले अख्तियारका पदाधिकारी प्रधानमन्त्री कार्यालय पुग्नु र त्यहाँ गएर विभिन्न विषयमा छलफल गर्नुले पनि संवैधानिक आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने बताए।
गत असारको पहिलो साता अख्तियारको टोली प्रधानमन्त्री कार्यालय पुगेको थियो। सो घटनालाई लिएर सरकारमाथि निगरानी राख्ने तथा शक्ति सन्तुलन कायम गर्ने उद्देश्यले स्थापित संवैधानिक निकायका पदाधिकारी प्रधानमन्त्री कार्यालयमा पुग्नु उपयुक्त थियो कि थिएन भन्ने बहससमेत भएको थियो।
अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा घण्टौं राखेर केरकार गरिएको भन्ने विषयसमेत सार्वजनिक रूपमा उठेपछि सांसद सिंहले संवैधानिक निकायको हैसियत र स्वतन्त्रताबारे प्रश्न उठाएका हुन्।
उनले अख्तियारजस्तो संवैधानिक आयोगले आफ्नो स्वतन्त्रता, निष्पक्षता र संस्थागत गरिमालाई कायम राख्नुपर्नेमा जोड दिएका छन्।




















