काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतका स्थल सेनाध्यक्ष जनरल धिरज सेठबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको बताइएको छ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष सेठ गत ३१ साउनमा काठमाडौं आएका हुन्।
काठमाडौं भ्रमणका क्रममा सोमबार उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए। त्यसपछि नेपाली सेनाको मुख्यालय जंगी अड्डामा उनलाई सम्मान तथा गारद अर्पण गरिएको थियो।
सोही क्रममा भारतीय स्थल सेनाध्यक्ष सेठ र नेपाली सेनाका प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता भएको थियो। भेटपछि सेठले जंगी अड्डा परिसरमा वृक्षरोपणसमेत गरेका थिए।
त्यसपछि आयोजित कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष सेठले नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए।
सोमबारको पूर्वनिर्धारित कार्यक्रमअनुसार सेठ राष्ट्रपति कार्यालय शीतल निवाससमेत पुगेका थिए। त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरेका थिए।
प्रधानमन्त्री शाहसँगको भेटवार्तासँगै उनको नेपाल भ्रमणका औपचारिक कार्यक्रमहरू अघि बढिरहेका छन्।




















