काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको आरोप लगाएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै साम्पाङले सरकारका विभिन्न मन्त्रालयको कार्यसम्पादन र जवाफदेहितामाथि प्रश्न उठाएका हुन्। प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्मले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा वहन गर्न नसकेको उनको टिप्पणी थियो।
‘सहकारी पीडितले पैसा फिर्ता पाएका छैनन्, न्यायालयमा न्याय छैन र अस्पतालमा उपचार पाउने अवस्था छैन,’ साम्पाङले भने, ‘सरकार संसद्प्रति र संसद जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्छ। अन्यथा हाम्रो बहसको कुनै अर्थ रहँदैन।’
उनले सीमा सुरक्षा, शान्ति–सुरक्षा, मल तथा खाद्यान्न आपूर्ति, रोजगारी सिर्जना र महँगी नियन्त्रणजस्ता जनसरोकारका आधारभूत विषयमा सरकार असफल रहेको दाबी गरे।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ध्यानाकर्षण गराउँदै उनले सुनसरीको रामधुनी–७ मा रहेको ६४ बिघा जग्गा भूमाफियाले आफ्नो नाममा पारेको विषयमा स्थानीय बासिन्दालाई न्याय दिन माग गरे।
त्यस्तै, धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको अर्बौँ रुपैयाँ जोखिममा रहेको उल्लेख गर्दै उक्त रकम फिर्ता गराउन सरकारले तत्काल पहल गर्नुपर्नेमा उनले जोड दिए।
विकास निर्माणका योजनासमेत प्रभावित भएको भन्दै साम्पाङले सुनसरी–१ लगायत देशभरका विभिन्न योजनाको ठेक्का प्रक्रिया तत्काल अगाडि बढाउन सरकारसँग माग गरे।




















