काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आम नागरिकले सामान्य औषधिसमेत सहज रूपमा नपाउने अवस्था रहेको भन्दै मन्त्री बिरामी पर्दा भने राज्यको लाखौँ रुपैयाँ खर्च गरेर हेलिकप्टरमार्फत उद्धार गरिएको विषयमा सरकारको आलोचना गरेको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दुर्गम क्षेत्रका नागरिकले राहत, औषधि तथा समयमै स्वास्थ्य सेवा नपाएको तर मन्त्रीहरूका लागि भने राज्यको स्रोतसाधन सहज रूपमा प्रयोग गरिएको टिप्पणी गरिन्।
‘जनताले राहत पाउँदैनन्, सिटामोल पाउँदैनन्, सुत्केरीले समयमा अस्पताल पाउँदैनन्,’ उनले भनिन्, ‘तर काठमाडौँको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा खानपान पचाउन नसकेर बिरामी भएपछि लाखौँ खर्च गरेर हेलिकप्टरमा काठमाडौँ ल्याइन्छ।’
थापाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा, औषधि र राहतको पहुँच सुनिश्चित गर्न नसक्ने सरकारले मन्त्रीको उपचार र उद्धारमा भने ठूलो रकम खर्च गर्नुले राज्यको प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएको बताइन्।
उनले आम नागरिक र राज्यका उच्च पदस्थ व्यक्तिलाई प्रदान गरिने सेवा–सुविधाबीच देखिएको असमानताबारे सरकार स्पष्ट हुनुपर्ने मागसमेत गरिन्।




















