झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको आन्दोलन हुल्लडबाजीका माध्यमबाट सत्ता कब्जा गर्ने कुत्सित प्रयास भएको आरोप लगाएका छन्।
झापामा आयोजित एमालेको जिल्ला भेला तथा जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले देश जलाएर गरिएको उक्त आन्दोलनलाई फागुन २१ गतेको निर्वाचनमार्फत वैधता दिने प्रयास गरिएको दाबी गरे।
प्रतिनिधिसभा पुनःस्थापनाको मागमा अन्य राजनीतिक दलहरूले एमालेलाई मात्र असर पर्ने ठानेर साथ नदिएको उल्लेख गर्दै ओलीले निर्वाचनलाई एमालेका लागि खनिएको ‘खाल्डो’ ठानेर बसेका दलहरू अन्ततः आफैँ त्यसमा फसेको दाबी गरे।
निर्वाचनका क्रममा एमालेमाथि चौतर्फी हमला भएको र सहज रूपमा हिँडडुल गर्ने वातावरणसमेत नरहेको ओलीले बताए। निर्वाचनमा पराजय भोग्नुपरे पनि एमाले कायर र भगौडाहरूको पार्टी नभएको उनको भनाइ छ।
एउटा मोर्चामा पराजित हुँदैमा समग्र युद्ध नहारिने बताउँदै ओलीले कार्यकर्तालाई उच्च मनोबलका साथ अघि बढ्न निर्देशन दिए।
‘एक गोल खायौँ, अब १० गोल फर्काउँछौँ,’ ओलीले भने, ‘हामीलाई कसैले रोक्न सक्दैन।’
‘प्रतिगमन सच्याउन एमालेले आन्दोलन गर्नुपर्छ’
ओलीले मुलुकमा प्रतिगमन भएको दाबी गर्दै त्यसलाई सच्याउन र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न एमालेले आन्दोलन तथा जागरण अभियान सञ्चालन गर्नुपर्ने बताए।
आगामी प्रदेश निर्वाचनलाई लक्षित गर्दै उनले हरेक वडामा ५१ प्रतिशतभन्दा बढी मत ल्याउने लक्ष्यसहित टोल, बस्ती र घरघरमा पुग्न कार्यकर्तालाई आग्रह गरे।
यसपटक नागरिक, विशेषगरी महिला मतदाताले गलत ठाउँमा मतदान गरेको उल्लेख गर्दै ओलीले जनता र पार्टी दुवैतर्फ भएका कमजोरी पहिचान गरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए।
‘साम्प्रदायिक विभाजन फैलाउने प्रयास रोक्नुपर्छ’
ओलीले मुलुकमा मधेसी–पहाडी, दलित–गैरदलित, नयाँ–पुरानो तथा धर्मका नाममा साम्प्रदायिक हिंसा र विभाजन फैलाउने तत्व सक्रिय रहेको आरोप लगाए।
यस्ता गतिविधि रोक्नुपर्ने बताउँदै उनले विभिन्न नाममा हुने साम्प्रदायिकताबाट देशलाई जोगाउने काम एमालेले गर्दै आएको दाबी गरे।
राजतन्त्रकालदेखि नै जेल, यातना र अनेकौँ अप्ठेरा परिस्थितिको सामना गर्दै एमाले आफ्नो सिद्धान्तमा अडिग रहेको उल्लेख गर्दै ओलीले आगामी दिनमा पनि देशको विकास र सार्वभौमसत्ताको रक्षाका लागि पार्टी दृढ भएर अघि बढ्ने प्रतिबद्धता जनाए।
‘एमाले नेतृत्वमा महत्वपूर्ण विकासका काम भए’
ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका विकास निर्माणका कामहरूको पनि चर्चा गरे। हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग र पुष्पलाल राजमार्ग निर्माणका साथै ताप्लेजुङ र हुम्लाजस्ता दुर्गम क्षेत्रमा सडक तथा कालोपत्रे पुर्याउने काम एमाले नेतृत्वको सरकारका पालामा भएको उनले बताए।
त्यस्तै, महाभूकम्पका बेला २८ हजार अस्थायी घर निर्माण गरी पीडितलाई हस्तान्तरण गरिएको र १३ हजार विद्यालय पुनर्निर्माण गरिएको उनले स्मरण गरे।
कोभिड–१९ को संकटका बेला एमालेका नेता–कार्यकर्ताले स्वयंसेवकका रूपमा गरेको काम पनि उदाहरणीय रहेको ओलीको दाबी थियो।
देशको विकास, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको रक्षाका लागि एमालेले आगामी दिनमा थप सशक्त भूमिका खेल्ने उनको भनाइ थियो।




















