काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजक गतिविधि स्वीकार्य नहुने बताएका छन्।
झापा एमालेले बिर्तामोडबाट सुरु गरेको ‘मिसन जागरण’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सामाजिक सञ्जालमा अभिव्यक्ति दिने र हस्ताक्षर अभियान चलाएर पार्टी अध्यक्ष हटाउन खोज्ने गतिविधिप्रति असन्तुष्टि जनाएका हुन्।
‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने ? पार्टीमा यस्तो शैली सह्य हुँदैन,’ ओलीले भने।
उनले पार्टी नेतृत्व परिवर्तनबारे असन्तुष्टि वा धारणा भए त्यसलाई सामाजिक सञ्जाल र हस्ताक्षर अभियानमार्फत नभई पार्टीको आधिकारिक कमिटीमा राख्न सुझाव दिए।
‘अध्यक्षले छोड्नुपर्छ भन्ने लागेको छ भने पार्टी कमिटीमै कुरा राख्नुस्,’ ओलीले भने।
पार्टीभित्र विधि र संस्थागत प्रक्रियालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै ओलीले अनुशासनविपरीतका गतिविधिले एमालेको आन्तरिक एकता र संगठनलाई कमजोर बनाउने संकेत गरे।




















