काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले पार्टीको १५औँ महाधिवेशन तयारीको जिम्मेवारी पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई दिएको छ।
आइतबार सम्पन्न भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले नै १५औँ महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।
भेलाको समापन समारोहलाई सम्बोधन गर्दै कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूहरूको सहमतिबिना जबर्जस्ती विशेष महाधिवेशन आयोजना गरेर धेरै नेता–कार्यकर्तालाई अन्यायपूर्ण ढंगले बाहिर राखिएको आरोप लगाए।
उनले पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले अदालतको पूर्ण निर्णय आफूहरूले स्वीकार गर्ने बताए।

‘मैले विशेष महाधिवेशन गर्न मानेको थिइनँ। मैले भनेको थिएँ– पार्टीका सबैको सहमतिले विशेष महाधिवेशन गरौँ, यसरी नगरौँ भनेर। जबर्जस्ती तरिकाले विशेष महाधिवेशन गरेर अन्यायपूर्ण तरिकाले धेरै साथीलाई बाहिर राखियो। त्यसको खिलाफमा हामी अदालत गयौँ,’ देउवाले भने।
अदालतबाट पूर्ण निर्णय आउन बाँकी रहेको उल्लेख गर्दै देउवाले आफूले न्याय पाउने विश्वास व्यक्त गरे।
‘मलाई विश्वास छ– अदालतको पूर्ण निर्णय आउन बाँकी छ। त्यसअघि मैले अदालतको विषयमा धेरै बोल्नु छैन। तर, मलाई विश्वास छ– मैले न्याय पाउँछु,’ उनले भने।
देउवाले विगतमा पनि न्यायालयले आफूलाई न्याय दिएको दाबी गरे। सर्वोच्च अदालतदेखि अन्य न्यायालयले विभिन्न समयमा आफूलाई न्याय दिएको उनको भनाइ थियो।
‘सर्वोच्च अदालतदेखि सबै न्यायालयले हिजोदेखि हामीलाई न्याय दिएको हो। राजाले थुन्दा पनि शाही आयोगलाई खारेज गरेको हो, पञ्चायतले पनि मलाई थुनेको थियो,’ देउवाले भने, ‘अहिले पनि न्यायालयले मलाई बचाएको छ, जसको कारणले म नेपालमा आइपुगेको छु।’
कांग्रेसभित्र विशेष महाधिवेशन र पार्टीको आधिकारिकतासम्बन्धी विवाद चर्किरहेका बेला देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै निरन्तरता दिँदै १५औँ महाधिवेशन गर्ने निर्णय गरेको हो। त्यसको तयारीको जिम्मेवारी डा. शशांक कोइरालालाई दिइएको छ।




















