काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालका कम्युनिष्ट पार्टीहरू संघर्ष र विद्रोहका मोर्चामा सफल भए पनि राज्यसत्ता सञ्चालनमा भने कमजोर देखिएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था र भविष्यबारे धारणा सार्वजनिक गर्दै पोखरेलले आन्दोलनको पुनर्जागरणका लागि ‘निर्मम समीक्षा’ आवश्यक रहेको बताएका हुन्।
उनले क्रान्तिपूर्व सरकारलाई शक्ति सञ्चयको आधार मान्ने कम्युनिष्ट मान्यता व्यवहारमा लागू हुन नसकेको उल्लेख गरेका छन्। सरकारमा पुगेपछि जनमत र राजनीतिक शक्ति बढ्नुको साटो क्षयीकरण हुँदै जानु अहिले कम्युनिष्ट आन्दोलनको प्रमुख चुनौती बनेको उनको भनाइ छ।
पोखरेलले कम्युनिष्ट नेतृत्वमा सरकार गठन हुँदा देशभक्ति, पूर्वाधार विकास र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेख्य काम भए पनि त्यसको राजनीतिक लाभ जनसमर्थनमा रूपान्तरण हुन नसकेको बताएका छन्।
उनका अनुसार २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार र २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको नौ महिने सरकारले मात्र जनमत बढाउन सफल भएको देखिन्छ।
२०८२ सालमा वामपन्थी आन्दोलनले असाधारण धक्का बेहोरेको उल्लेख गर्दै पोखरेलले अब पुरानै शैलीबाट अघि बढ्न नसकिने बताएका छन्।
आधारभूत वर्ग र समुदायका जनता किन कम्युनिष्ट पार्टीबाट टाढिँदै छन् र नेता–कार्यकर्तामा सामाजिक परिवर्तनको हुटहुटी किन कमजोर हुँदै गएको छ भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उनले बताएका छन्।
उनले समस्या देखिएपछि त्यसबाट भाग्ने नभई कारण पहिल्याएर समाधान खोज्नुपर्ने मार्क्सवादी मान्यता रहेको उल्लेख गरेका छन्।
‘हरेक समस्याका पछाडि कुनै न कुनै कारण हुन्छ र त्यसको समाधान पनि त्यसमै निहित हुन्छ । यो मार्क्सवादी मान्यता हो,’ पोखरेलले भनेका छन्, ‘तसर्थ समस्या छ भनेर भाग्ने होइन, सामना गरेर अघि बढ्ने हो।’
उनका अनुसार कम्युनिष्ट आन्दोलनको पुनर्जागरणका लागि विगतका कमजोरी र वर्तमान चुनौतीको वस्तुनिष्ठ मूल्यांकन गर्दै नयाँ ढंगबाट अघि बढ्न आवश्यक छ।




















