काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा विभिन्न प्रतिवेदनहरू पेश भएका छन्।
काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेशमा जारी राष्ट्रिय भेला अन्तर्गतको बन्द सत्रमा विधान संशोधन लगायतका विभिन्न प्रस्ताव छलफलका लागि पेश गरिएको हो। बैठकमा कांग्रेसका नेता विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उनको प्रतिवेदनमा पुस्तान्तरणका नाममा आन्दोलनका हरेक चरणमा योगदान गर्नेहरूलाई विधि विपरीत अपमानित गर्ने कार्य भएको उल्लेख गरिएको छ। साथै १५ औँ महाधिवेशनका लागि निर्धारित समयभित्रै क्रियाशील सदस्यता नवीकरण गरिसकेका सदस्यहरूलाई पनि अद्यावधिक गर्न दबाब दिनु अनुचित रहेको उनको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै कांग्रेसका नेता रमेश लेखकले पेश गरेको विधान संशोधनका लागि अवधारणा पत्रमा सामान्यतया एक व्यक्ति एकपटकमा एक पदमा मात्र जिम्मेवारीमा रहनसक्ने गरी आवश्यक व्यवस्था गर्ने उल्लेख छ। केन्द्रीय महाधिवेशनको समयावधि समाप्त हुन भन्दा कम्तीमा ६ महिनाभन्दा कम अवधि बाँकी रहेको अवस्थामा, राष्ट्रिय निर्वाचन हुनुभन्दा कम्तीमा ६ महिना वा सो भन्दा कम अवधि बाँकी रहेको अवस्थामा तथा पार्टीले केन्द्रीय महाधिवेशनको कार्यतालिका प्रकाशित गर्ने निर्णय गरिसकेको अवस्थामा विशेष महाधिवेशन गरिने छैन भन्ने व्यवस्था गर्ने समेत उनको प्रस्ताव छ।
साथै बैठकमा कांग्रेसका नेता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिको कार्यदिशा र एनपी साउदले समसामयिक प्रस्ताव प्रस्तुत गरेका छन्। बन्द सत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथि छलफल भइ आइतबार आवश्यक निर्णयसहित पारित हुने कांग्रेस नेता मोहन बस्नेतले जानकारी दिए।
उनले कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन बोलाउने प्रक्रियामा त्रुटि रहेको बताए। विधानअनुसार केन्द्रीय कार्यसमितिको निर्णय बिना, सभापति वा महामन्त्रीहरूले मात्र चाहेर विशेष महाधिवेशन बोलाउन वा प्रस्ताव पास गर्न नसकिने उनको तर्क छ।




















