काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट ग्यास बिक्री वितरण सुरु गरे पनि सर्वसाधारणले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्।
नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा शनिबारदेखि काठमाडौंका पाँच स्थानमा ग्यास उद्योग तथा डिपोमार्फत बिक्री वितरण सुरु गरेको हो। निगमका अनुसार टेकुस्थित निगम परिसर, चाबहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुर र वसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास वितरण भइरहेको छ।
वितरण केन्द्रअनुसार विभिन्न ब्रान्डका ग्यास उपलब्ध गराइएको निगमले जनाएको छ। ग्यास लिन तोकिएका केन्द्रमा बिहानैदेखि उपभोक्ताको लामो लाइन लागेको थियो।
नेपाल आयल निगमका कर्मचारी भीमप्रसाद पौडेलका अनुसार बबरमहलस्थित वितरण केन्द्रमा मात्रै ग्यास लिन एक हजारभन्दा बढी उपभोक्ता पुगेका थिए। निगमले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास वितरण गर्ने योजना बनाएको छ।
बबरमहल केन्द्रबाट काठमाडौंका जुनसुकै क्षेत्रका उपभोक्ताले ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको पौडेलले जानकारी दिए। उनका अनुसार उक्त केन्द्रमा करिब १० प्रकारका ग्यास सिलिन्डर उपलब्ध छन्।
ग्यास अभावको वर्तमान अवस्थालाई मध्यनजर गर्दै निगमले ग्यास डिपोसँग समन्वय गरी वितरणलाई सहज बनाउन सहजीकरण गरिरहेको जनाएको छ।
दिनभर लाइन बस्दा पनि ग्यास नपाएको गुनासो
निगमले विभिन्न स्थानबाट ग्यास वितरण सुरु गरे पनि बबरमहलमा पुगेका उपभोक्ताले भने लामो समय लाइनमा बस्दा समेत ग्यास पाउन नसकेको गुनासो गरेका छन्।
उपभोक्ताहरूका अनुसार लाइनमा बसेर पालो आए पनि वितरण केन्द्रमै ग्यास सकिएपछि उनीहरू ग्यास आउने आशामा घण्टौँ कुर्न बाध्य भएका छन्। कतिपय उपभोक्ताले दिनभर लाइनमा बसेर पनि ग्यास नपाएको बताएका छन्।
ग्यास अभावका कारण खाना पकाउन समस्या भएको भन्दै उपभोक्ताले वितरण प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्।
कालोबजारी र भण्डारणविरुद्ध अनुगमन तीव्र
नेपाल आयल निगमले ग्यासको कालोबजारी तथा अनावश्यक भण्डारणविरुद्ध अनुगमन तीव्र पारिएको जनाएको छ।
पौडेलका अनुसार ग्यास लुकाउने, अनावश्यक रूपमा भण्डारण गर्ने तथा कालोबजारी गर्ने व्यवसायी तथा व्यक्तिलाई कानुनी दायरामा ल्याउने गरी अनुगमन भइरहेको छ।
निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएको वितरण केन्द्र र समयमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ। ग्यास लिन आउने उपभोक्ताले अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्ने निगमले जनाएको छ।




















