काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरपक्षको राष्ट्रिय भेलामा पूर्व सहमहामन्त्री प्रकाशशरण महतले मुलुकमा जेनजी आन्दोलनको घट्नाजस्तै कांग्रेसमा नियमित महाधिवेशनको सट्टामा विशेष महाधिवेशन भएको बताए।
उनले असमान्य अवस्थामा मात्र सर्वोच्च अदालतमा पुनरावलोकन हुने गरेको उल्लेख गर्दै सर्वोच्चबाट सिंगो पार्टीलाई न्याय हुने बताए। उनले अबको अवस्थामा पार्टीलाई देउवाको नेृतृत्वमा एकताबद्ध गरिने उल्लेख गरे।
त्यस्तै पार्टीका नेता रमेश लेखकले १५औँ महाधिवेशन प्रक्रिया सुरु भइसकेको अवस्थामा आत्तिएर समयभन्दा छिटो विशेष महाधिवेशन गरिएकाले पार्टीमा समस्या आएको बताए। कांग्रेस देउवाको नेतृत्वमा एकताबद्ध हुने बताए।
त्यस्तै कांग्रेस नेता मोहन बस्नेतले पार्टीलाई सबल र सक्षम बनाउन परिपक्व नेताहरूको सुझाव र सल्लाहलाई आत्मसाथ गर्नुपर्ने बताए। देउवाको नेतृत्वमा कांग्रेसलाई शीर्ष स्थानमा पुर्याएर देशलाई निकास दिने उनको भनाइ छ।
त्यस्तै अन्य नेताहरूले कांग्रेस एक ढिक्का बनाउनका लागि अब सबै सहभागी हुने गरी पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने धारणा व्यक्त गरे। भेलाको शनिबार र आइतबार बन्दसत्र चल्नेछ भने बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, आर्थिक, समसामयिक, प्रस्तावमाथि छलफल गरिने बताइएको छ।




















