काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन शनिबार र आइतबार २४ सै घण्टा बिक्री–वितरण गर्ने तयारी गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा शुक्रबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ईश्वरराज पौडेलले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन विभिन्न स्थानमा बिक्री केन्द्र सञ्चालन गर्न लागिएको जानकारी दिए।
उनका अनुसार काठमाडौंका उपयुक्त स्थान पहिचान गरी करिब ३० देखि ५० स्थानबाट ग्यास बिक्री गर्ने तयारी भइरहेको छ। तत्कालको समस्या समाधान गर्न कर्मचारी परिचालन गरेर शनिबार र आइतबार चौबिसै घण्टा ग्यास वितरण गरिने उनले बताए।
उनका अनुसार शनिबारदेखि नै सेवा सुरु गर्ने गरी आवश्यक तयारी भइरहेको छ। ग्यास बिक्री तथा वितरणका लागि विभिन्न टोली परिचालन गरिनेछ।
ग्यास वितरणका लागि बसुन्धारास्थित राधास्वामी, कीर्तिपुरको स्मृति भवन, नेपाल आयल निगमको टेकु परिसर, दशरथ रंगशाला, नेसनल ट्रेडिङको बिक्री केन्द्र, चन्द्रागिरि नगरपालिकाको परिसर, चाँदबाग स्कुल, गोकर्णेश्वर र टोखा नगरपालिका, चावहिलको यातायात कार्यालय, महाराजगञ्ज वडा कार्यालय, बबरमहल, जुडो हल लगायतका स्थानलाई सम्भावित बिक्री केन्द्रका रूपमा पहिचान गरिएको छ।
ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन उद्योग मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम र ग्यास उद्योग संघबीच समन्वय भइरहेको छ।
त्यसैगरी, मन्त्रालयले छुट्टै सप्लाइ चेन तथा वितरणसम्बन्धी कार्यविधि तयार गर्ने प्रक्रिया अघि बढाएको छ। त्यसका लागि सम्बन्धित सबै निकायसँग छलफल भइरहेको मन्त्रालयले जनाएको छ।




















