काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा कांग्रेस अगाडि बढ्ने बताएका छन्।
शुक्रबार कांग्रेस इतर पक्षको राष्ट्रिय भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै भेला आयोजक समितिका संयोजकसमेत रहेका कोइरालाले पार्टीलाई एकजुट बनाउनकै लागि राष्ट्रिय भेला आयोजना गरिएको बताए।
‘नेपाली कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो,’ उनले भने, ‘कांग्रेस एकजुट भएमा कसैले पनि पराजित गर्न सक्दैन।’
सम्बोधनका क्रममा कोइरालाले पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवासँगको आफ्नो पुरानो सम्बन्धबारे चर्चा गरे। उनका अनुसार पहिलोपटक बीपी कोइरालाले बनारसमा देउवासँग आफ्नो परिचय गराएका थिए।
त्यसपछि २०४६ सालको जनआन्दोलनपछि लन्डनमा रहेका देउवालाई गिरिजाप्रसाद कोइरालाको आग्रहमा आफूले फोन गरेको उनले स्मरण गरे।
‘शेरबहादुरजीको भाग्य यति राम्रो छ, आउनेबित्तिकै प्रधानमन्त्री बन्नुभयो,’ उनले भने।
यसपटक पनि देउवा राष्ट्रिय भेलामा सहभागी हुन आएसँगै कार्यक्रम सफल हुने कोइरालाको दाबी थियो।
‘शेरबहादुर देउवा यहाँ आउनेबित्तिकै यो पूर्ण सफल हुन्छ,’ उनले भने।
नेता कोइरालाले देउवा नै कांग्रेसको नेता र सभापति भएकाले उहाँकै नेतृत्वमा पार्टी अघि बढ्ने स्पष्ट पारे।
‘शेरबहादुर हाम्रो नेता हो, हाम्रो सभापति हो,’ उनले भने, ‘उहाँको नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ।’




















