काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई राजस्व संकलनको स्रोतका रूपमा मात्रै हेर्ने गरेको गुनासो गरेका छन्।
काठमाडौंमा सुरु भएको नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित नाइमा मोबिलिटी एक्स्पोमा बोल्दै अध्यक्ष श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई सरकारले प्राथमिकताका साथ नहेरेको बताएका हुन्।
‘अटोमोबाइल क्षेत्रलाई सधैँ सरकारले राजस्वको स्रोतका रूपमा मात्रै हेर्यो। सरकारलाई हामीले बारम्बार बुझाउन खोज्यौँ। त्यो हामीले नसकेकोले आज पनि त्यही देखिन्छ,’ उनले भने, ‘बजेटमा भन्सारका दरहरू अटोमोबाइल क्षेत्रमा थोपर्ने काम नै भयो।’
सवारीसाधनलाई आवश्यकताका रूपमा हेर्नुपर्ने भए पनि सरकारले अझै विलासी वस्तुका रूपमा हेर्ने गरेको श्रेष्ठको भनाइ छ। नेपालले विश्वकै उच्चमध्ये भन्सार दर लगाउने गरेको उनले दाबी गरे।
नयाँ सरकार आउनेबित्तिकै नयाँ काम गर्ने नाममा सवारीसाधनको दर्ता रोक्ने प्रवृत्ति देखिएको भन्दै उनले त्यसप्रति पनि असन्तुष्टि जनाए।
‘नयाँ सरकार आउनेबित्तिकै नौलो काम गर्न खोज्छ। त्यो नौलो काम सवारीसाधनको दर्ता रोक्ने हुन्छ। किन त्यो गर्छ भन्ने स्पष्ट हुँदैन तर केही समयपछि आफैँ खोलिन्छ,’ उनले भने, ‘झ्याप्प बन्द गरेर मात्रै हुँदैन। यसबारे अध्ययन–अनुसन्धान गरेर मात्रै के गर्ने भन्ने निर्णय गर्नुपर्छ।’
श्रेष्ठले नेपालमा सडक सुरक्षाको विषयमा बहस भइरहे पनि सडकको अवस्था दयनीय रहेको बताए। राजधानीमै सडकको अवस्था राम्रो नरहेको भन्दै दुर्घटना हुँदा सवारीसाधन र चालकलाई मात्रै दोषी देखाउने प्रवृत्ति उचित नभएको उनको भनाइ छ।
‘दुर्घटनाको कारणबारे कुरा गर्दा सडकको गुणस्तरलाई पनि हेर्नुपर्छ। सवारीसाधन र चालकको मात्रै गल्ती देखाएर हुँदैन,’ उनले भने।
नेपालमा दिगो मोबिलिटीको आवश्यकता रहेको उल्लेख गर्दै श्रेष्ठले सवारीसाधनमा वैज्ञानिक भाडादर कायम गर्नुपर्ने मागसमेत गरे। उनले संघ, प्रदेश र स्थानीय गरी तीनवटै तहका सरकारबीच नीतिगत एकरूपता आवश्यक रहेको बताए।




















