काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले नेपालको विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई सर्वसम्मतिले पारित गरेको छ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकलाई सदनको बैठकमा निर्णयार्थ प्रस्तुत गर्दै पारित भएको घोषणा गरे।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपालको विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत सर्वसम्मतिले स्वीकृत गरेको छ।
बैठकमा प्रधानमन्त्री शाहका तर्फबाट कानूनमन्त्री गौतमले उक्त विधेयक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
मन्त्री गौतमले अनुसन्धान गर्ने निकाय कुनै एकै स्थानमा मात्र नभइ सबै खालका सूचना प्रधानमन्त्रीसमक्ष पुग्दा राम्रो हुने र प्रधानमन्त्री स्वयंले देशको समग्र सुरक्षाको चासो राख्नुपर्ने भएकाले यस्ता विषय प्रधानमन्त्री कार्यालयअन्तर्गत रहने गरी बनाउनुपर्ने सरकारको धारणा रहेको बताइन्।
उनले अर्थ मन्त्रालय, गृह मन्त्रालयमात्रै नभएर सबै खालको अनुसन्धान गुप्तचर निकायले गर्नुपर्ने भएकाले यो विधेयकले प्रधानमन्त्री कार्यालयअन्तर्गत राष्ट्रिय अनुसन्धान व्युरोलाई राख्न खोजिएको बताइन्।
यसअघि, छलफलमा सांसदहरु सृष्टि भट्टराई, ललिताकुमारी, गणेशबहादुर विश्वकर्मा, दीपककुमार शाह, शाहजान खातुन, यशोधाकुमारी बराल, साजिदा खातुन सिद्धिकीले भाग लिँदै आफ्नो धारणा, जिज्ञसा तथा सुझाव राखेका थिए।
प्रतिनिधिसभाको अर्को बैठक यही साउन २६ गते मंगलबार १ बजे बस्नेछ। रासस




















