काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार शासकीय अराजकतामा फसेको आरोप लगाएका छन् ।
आइतबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकार बरालिएको दाबी गरे । उनले सरकारका गलत कदमलाई नियन्त्रणमा ल्याउने जिम्मेवारी प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेसको भएको बताए।
प्रधानमन्त्री शाहले आफूले चलाएको ‘गाडीमा ब्रेक नभएको’ बताएको प्रसंग उल्लेख गर्दै सभापति थापाले सरकारलाई तीव्र गतिमा अघि बढ्ने छुट भए पनि संविधान र विधिको ‘लेन’ मिच्न नदिने चेतावनी दिए।
सभापति थापाले सरकार बरालिएको भन्दै त्यसलाई सही बाटोमा ल्याउने काम कांग्रेसको भएको बताए ।
उनले प्रतिनिधिसभा निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा कांग्रेस सही बाटोमा अघि बढिरहेको दाबीसमेत गरे ।




















