काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत पहिलो चरणको उपहार घोषणा गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विजेताहरूको घोषणा गरेका हुन्।
विभागका अनुसार साउन १ देखि १५ गतेसम्म अनलाइन वा नगदमार्फत वस्तु तथा सेवा खरिद गरी नियमअनुसार बिल दर्ता गरेका उपभोक्तामध्ये १५ जनाले करकट्टीपछि जनही १ लाख रुपैयाँ नगद उपहार पाएका छन्। करदाताको गोपनीयता कायम गर्न विजेताको नाम सार्वजनिक गरिएको छैन।
यस्तै, १० लाख रुपैयाँको बम्पर उपहार भने शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको खरिद गर्ने एक उपभोक्ताले जितेका छन्। बम्पर पुरस्कार रकममा कर लाग्ने विभागले जनाएको छ।
विभागका अनुसार अब हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन उपहार विजेताको घोषणा गरिनेछ। QR वा डिजिटल वालेटमार्फत खरिद गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी हुनेछन् भने नगद खरिद गर्नेले प्यान/भ्याट बिल विभागको वेबसाइटमा अपलोड गरेर सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ।




















