विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले तत्काल राजीनामा नदिने अडान लिएपछि उनकै नेतृत्वमा प्रदेश सरकारलाई निरन्तरता दिने सहमति भएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटमा पनि मुख्यमन्त्री कार्कीले तत्काल राजीनामा नदिने अडान राख्नुभएको थियो। त्यसपछि अर्को निर्देशन नआएसम्म उनकै नेतृत्वमा प्रदेश सरकार सञ्चालन हुने भएको हो।
प्रदेश सरकारको नेतृत्वका विषयमा बुधबार पार्टी अध्यक्ष ओलीको निवासमा मुख्यमन्त्री कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीबीच छलफल भएको थियो।
छलफलपछि एमाले कोशी प्रदेश अध्यक्ष खतिवडाले तत्कालका लागि मुख्यमन्त्री कार्कीकै नेतृत्वमा सरकार सञ्चालन हुने जानकारी दिए ।
छलफलका क्रममा अध्यक्ष ओलीले आफूले नेतृत्व परिवर्तनका लागि निर्देशन दिएको अवस्थामा मुख्यमन्त्रीसहित प्रदेशका मन्त्रीहरूले राजीनामा दिनुपर्ने सर्त राख्नुभएको बताइएको छ।
यससँगै तत्कालका लागि कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन नहुने भएको छ। आगामी दिनमा पार्टी नेतृत्वबाट आउने निर्देशनका आधारमा मुख्यमन्त्री कार्कीले नेतृत्व हस्तान्तरण गर्ने सम्भावना रहेको एमाले नेताहरूले बताएका छन् ।




















