काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको भन्दै त्यसलाई कमजोर बनाउने कुनै पनि गतिविधि हुन नहुने बताएका छन्।
प्रेस चौतारी नेपालले दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पछिल्ला तीन दशकमा नेपालले भौतिक पूर्वाधार, सामाजिक तथा आर्थिक विकाससँगै संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी निर्वाचन प्रणालीलगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरे। उनले ती उपलब्धिको संरक्षण गर्दै देशलाई आर्थिक विकासको मार्गमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।
उनले वर्तमान सरकारले सार्वजनिक गरेको १०० बुँदे प्रतिबद्धताले जनतामा नयाँ आशा र विश्वास जगाएको दाबी गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए।
महासचिव पोखरेलले बदलिँदो समयसँगै नयाँ पुस्ताको अपेक्षाअनुसार सरकार र राजनीतिक दलहरूले आफूलाई निरन्तर सुधार गर्दै लैजानुपर्नेमा जोड दिए। एमाले पनि आत्मसुधारको प्रक्रियालाई निरन्तर अघि बढाउँदै जनविश्वास थप मजबुत बनाउन प्रतिबद्ध रहेको उनको भनाइ थियो।
उनले राजनीतिक स्थायित्व कायम गर्दै विकास र सुशासनलाई प्राथमिकतामा राख्न सबै राजनीतिक शक्ति जिम्मेवार बन्नुपर्ने आवश्यकता पनि औँल्याए।




















