काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निश्कल राईले शान्ति भनेको कर्फयु हटाउनु र सडक खोल्नु मात्र नभएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सुनसरी घटनाको सन्दर्भ निकाल्दै सांसद राईले नागरिकको मनबाट डर हटाउनु र न्यायप्रति विश्वास जगाउनु र एक समुदायले अर्को समुदायलाई पुनः छिमेकीको रुपमा हेर्न सक्नु भएको बताएका छन् ।
उनले सरकार र आन्दोलनरत एउटा पक्षबीच भएको १३ बुँदे सहमतिले गम्भीर प्रश्न उठाएको बताए । उनले आफू कुनै पनि पक्षको मागलाई पूर्वाग्रहपूर्वक अस्वीकार गर्न नचाहने बताउँदै सांसद राईले तर, धर्म, राज्यको संवैधानिक चरित्र, नागरिकता र धार्मिक संस्था र आयोगहरुसँग सम्बन्धित विषयहरु कुनै एक पक्षसँग गरिएको सहमतिबाट मात्र निष्कर्ष पुग्न सक्ने सामान्य विषय नभएको बताए ।
उनले सुनसरी लगायतका स्थानमा भएका घटनाको निष्पक्ष अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । कांग्रेसका सचेतक समेत रहेका राईले सुनसरी घटनाको निष्पक्ष अनुसन्धान गरी घटनाको कारण, सुरक्षा कमजोरी, अफवाहको भूमिका र राज्यको प्रक्रिया सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।
सामाजिक सञ्जाल मार्फत घृणा र झुटा सूचना फैलाउने माथि कानुन अनुसार कारबाही गर्न माग गर्दै उनले कुनै धर्म वा समुदायलाई सामूहिक रूपमा शंकाको घेरामा नराख्न आग्रह समेत गरे । सरकारले गरेका सहमति, संवैधानिक आधार, कार्यान्वयन प्रक्रिया र समयसीमाबारे संसद तथा नागरिकलाई स्पष्ट जानकारी दिन उनले माग गरे ।
साथै उनले संवेदनशील निर्णयहरू बन्द कोठामा नभई खुला राष्ट्रिय संवादबाट हुनुपर्ने उल्लेख गर्दै असहमति निषेध गरेर एकता कायम हुन नसक्ने धारणा राखे । सांसद राईले घृणा भन्दा संवाद, अफवाह भन्दा सत्य, प्रतिशोध भन्दा न्याय र विभाजन भन्दा राष्ट्रिय एकता रोज्नु नै संविधानको मर्म र नेपालीको भविष्यको आधार भएको बताए ।




















