काठमाडौं । अवैध नगद तथा हुन्डी कारोबारसँग सम्बन्धित रकम लुकाइएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले विराटनगरका उद्योगी तथा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको घर र कार्यालयमा करिब पाँच घण्टा खानतलासी गरेको छ।
सोमबार बिहान करिब ४:३० बजेदेखि सुरु भएको खानतलासीपछि प्रहरीले कुनै पनि शंकास्पद वस्तु वा अवैध रकम फेला नपरेको जनाएको छ। मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार विशेष सूचनाका आधारमा मुन्दडाको घरदेखि कार्यालयसम्म विस्तृत रूपमा खोजतलास गरिएको भए पनि कुनै प्रमाण वा शंकास्पद सामग्री भेटिएन।
प्रकाश मुन्दडा विराटनगरका चाँदी व्यवसायसँग आबद्ध प्रमुख उद्योगीमध्ये एक हुन्। प्रहरीले अवैध नगद र हुन्डी कारोबारसँग सम्बन्धित रकम लुकाइएको आशंकामा छापा मारेको जनाएको छ।
देवेनारा समूहका सदस्य वेनीगोपाल मुन्दडाले प्रहरीले कानुनी प्रक्रिया अनुसार पुर्जी देखाएर खानतलासी गरेको र परिवारले पूर्ण सहयोग गरेको बताए। उनका अनुसार प्रहरीले घर तथा कार्यालयका सबै सम्भावित स्थानमा खोजतलास गरे पनि केही फेला नपरेपछि कुनै कारबाही नगरी फर्किएको थियो।
प्रहरीले भने विशेष सूचनाका आधारमा गरिएको खानतलासीमा हालसम्म कुनै अवैध सामग्री वा प्रमाण फेला नपरेको जनाएको छ।




















