काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विभाजन अन्त्य गर्दै पार्टीका दुई पक्षबीच एकता कायम गर्ने उद्देश्यले युवा नेताहरूले नयाँ अभियान सुरु गर्ने घोषणा गरेका छन्।
सभापति गगन थापा नेतृत्वको पक्ष र संस्थापनइतर समूहबीच सहकार्य तथा एकता सुदृढ गर्ने लक्ष्यसहित ‘देश र कांग्रेस जोड्ने’ नामक अभियान सुरु गर्न लागिएको हो।
नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, रञ्जित कर्णलगायतको अगुवाइमा सञ्चालन हुने अभियानअन्तर्गत साउन २० गते ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
अभियानका आयोजकहरूका अनुसार देशभरका पालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित गर्दै उक्त भेला आयोजना गरिनेछ।
अभियानका अगुवाहरूले नेपाली कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक प्रणाली नै कमजोर हुने र प्रतिगामी शक्तिहरू बलियो बन्ने जोखिम बढ्ने निष्कर्ष निकालेका छन्।
अभियानको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, “प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिनु लोकतन्त्रका लागि पनि चिन्ताको विषय बनेको छ। यही परिस्थितिलाई आत्मसात् गर्दै हामीले ‘देश र कांग्रेस जोड्ने’ अभियान सुरु गरेका हौं।”
अभियान कुनै गुट, व्यक्ति वा पदको पक्षमा नभई पार्टीको एकता, सुदृढीकरण र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि सञ्चालन गरिएको आयोजकहरूले स्पष्ट पारेका छन्।




















