विराटनगर । सुनसरीको देवानगञ्जमा साउन १० गते भएको दोहोरो झडपमा मृत्यु भएका दुई जनाको शव परिवारले बुझेको छ । शव शुक्रबार साँझ अस्पतालबाट निकालिएको हो ।
देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारले विराटनगरस्थित कोशी अस्पतालबाट बुझेको हो ।
घटनाका क्रममा गोली लागेर ओमप्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते जयप्रकाशको उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो ।
परिवारले शव बुझेपछि दुवैको शव कप्तानगञ्जस्थित घर लैजाने र शुक्रबार नै अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।
बिहीबार राति गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा सरकार र मृतक परिवारबीच सहमति भएपछि परिवार शव बुझ्न तयार भएको हो ।




















