पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न चार क्षेत्रमा आज पनि निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज साँझ ५ बजेदेखि लागू हुने गरी पूर्वतर्फ प्रतिमा चोक (बसपार्क बाइपास रोड), पश्चिमतर्फ तिलावे पुल, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटसम्मको क्षेत्रमा भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गर्नुभएको हो ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार ती क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस जम्मा वा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निषेधाज्ञा आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।
बिहीबार पनि सोही समयमा सोही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।




















