काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने विषयमा हिन्दु र मुस्लिम समुदायका धार्मिक अगुवासँग छलफल गरेका छन्।
शुक्रबार सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा भएको छलफलमा मौलाना नरुल हुसेन, मौलाना मोहम्मद खालिद, विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी तथा सचिवालय सदस्य राजुराज फुयाल सहभागी थिए।
लामिछानेले विशेषगरी सुनसरी, सिराहा लगायतका जिल्लामा देखिएको तनावपूर्ण अवस्थालाई ध्यानमा राख्दै धार्मिक अगुवाहरूलाई शान्ति, संयम र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न तथा प्रदर्शनलाई शान्तिपूर्ण बनाउन समुदायमा अपिल गर्न आग्रह गरेका छन्।
उनको सचिवालयका अनुसार छलफलमा पछिल्ला घटनाक्रमका कारण कोशी र मधेस प्रदेशका केही जिल्लामा उत्पन्न असहज अवस्थाबारे पनि विचार–विमर्श भएको थियो। सहभागीहरूले सामाजिक सद्भाव, आपसी सम्मान र संवादमार्फत समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका थिए।
पछिल्ला दिनहरूमा केही जिल्लामा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बल्याउने गतिविधि बढिरहेका बेला सभापति लामिछानेले विभिन्न पक्षसँग संवादलाई तीव्रता दिएका छन्।




















