काठमाडौं । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा शुक्रबार बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले सार्वजनिक गरेको सूचनाअनुसार जिल्लाको शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्ने उद्देश्यले जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम कर्फ्यु आदेश जारी गरिएको हो।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जारी गरेको आदेशअनुसार कर्फ्यु राजविराज नगरपालिकाको पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गको जुडनी–ढलही क्षेत्र, उत्तरमा रूपनी रोडको बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहर (विष्णुपुर गाउँपालिका सीमा) सम्म लागू हुनेछ।
प्रशासनले तोकिएको क्षेत्रभित्र अर्को सूचना जारी नभएसम्म सर्वसाधारणलाई आवतजावत नगर्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ। साथै, शान्ति–सुरक्षा कायम राख्न आवश्यक सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।





















