जनकपुर। प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकासहित आसपासका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार दिउँसो ३:३० बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू लागू गरिएको हो।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधाम उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र, लक्ष्मीनिया गाउँपालिका तथा नगराइन नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश लागू गरिएको जानकारी दिए।
प्रशासनले शान्ति–सुरक्षा कायम राख्न र सम्भावित अप्रिय घटना रोक्न कर्फ्यू आदेश जारी गरिएको जनाएको छ।
हिन्दु सम्राट सेनाको आह्वानमा जनकपुरधामको बजार बन्द गरिएको छ । जनकपुरधामका हिन्दु युवाहरूले प्रत्येक मुख्य चोकमा टायर बालेर प्रदर्शन गरेका छन् भने सुनसरी घटनाको विरोध गर्दै गृहमन्त्री सुधन गुरुङको राजीनामा पनि माग गरेका छन्।
जनकपुरधामको सम्पूर्ण बजार अहिले ठप्प बनेको छ । प्रत्येक चोकमा ठूलो संख्यमा प्रहरी प्रशासन तथा सेना परिचालन गराइएको छ ।




















