काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति अझै सहज अवस्थामा नपुगेको बताएका छन्। उनले जनताको अपेक्षाअनुसार काम हुन नसक्दा नागरिकमा निराशा बढ्दै गएको धारणा व्यक्त गरे।
बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारका गतिविधिप्रति जनतामा असन्तुष्टि र अन्योल बढ्दै गएको बताए। उनले देशमा हुने सकारात्मक तथा नकारात्मक दुवै प्रकारका घटनाको जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्ने उल्लेख गरे।
सुनसरीको कप्तानगञ्जमा बोलबम यात्राका क्रममा भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै उनले उक्त घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरे। धार्मिक यात्राका क्रममा उत्पन्न विवादले दुःखद रूप लिएको उल्लेख गर्दै उनले यसले साम्प्रदायिक सद्भावमा असर पार्न सक्ने सम्भावनाप्रति सचेत रहनुपर्ने बताए।
प्रचण्डले सुरक्षा निकायको भूमिकामाथि पनि प्रश्न उठाउँदै त्यहाँ गोली चलाउनुपर्ने अवस्था वास्तवमै थियो वा थिएन भन्ने विषयमा विस्तृत अध्ययन हुनुपर्ने धारणा राखे। उनले घटनाका सबै पक्षको निष्पक्ष अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग आग्रह गरे।




















