काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरीको देवानगञ्ज घटनाबारे प्रधानमन्त्रीको मौनतामाथि प्रश्न उठाउँदै राज्यबाट भएका गोलीकाण्डमा एउटै मापदण्ड लागू हुनुपर्ने बताएकी छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै ओलीले प्रहरी र सेना परिचालन गर्नु वा आकाशमा ड्रोन उडाउनुले मात्र समस्या समाधान नहुने बताइन्। उनले देशले संकटका बेला प्रधानमन्त्रीबाट अभिभावकीय भूमिका र स्पष्ट धारणा अपेक्षा गरेको उल्लेख गरिन्।
‘योभन्दा पनि डरलाग्दा घटनाहरू यसअघि भएका थिए। त्यतिबेला प्रधानमन्त्रीहरूले राष्ट्रका नाममा सम्बोधन गर्थे। तर अहिले प्रधानमन्त्री कहाँ हुनुहुन्छ?’ भन्दै उनले प्रश्न गरिन्।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत गोली प्रहारबाट ज्यान गएको स्वीकार गरिसकेको उल्लेख गर्दै ओलीले यदि गोली नेपाल प्रहरीले चलाएको हो भने त्यसको आदेश कसले दिएको हो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरिन्।
‘हामी सुनसरीमा गोली कसले चलायो भन्ने जान्न चाहन्छौँ,’ उनले भनिन्।
ओलीले सत्तारुढ दलका सभापतिले जेन–जी आन्दोलनका क्रममा भएको गोलीकाण्ड र सुनसरी घटनालाई फरक–फरक प्रकृतिको भन्दै तुलना गर्न नमिल्ने अभिव्यक्ति दिएको प्रसंग पनि उठाइन्।
उनले घटना, स्थान र पृष्ठभूमि फरक हुन सक्ने स्वीकार गर्दै पनि राज्यको जवाफदेहिता भने सबै घटनामा समान हुनुपर्ने धारणा व्यक्त गरिन्।
‘राज्यबाट चलेका गोलीका घटनामा फरक मापदण्ड कसरी हुन सक्छ?’ भन्दै उनले सरकारले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरिन्।




















