काठमाडौं । नेकपा (एमाले) ले सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्ड र त्यसपछि विकसित परिस्थितिलाई लिएर सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकार शान्ति सुरक्षा कायम गर्न र तनाव नियन्त्रण गर्न असफल भएको आरोप लगाइन्। उनले सरकार नागरिकमा विश्वास जगाउनुको सट्टा त्रासको वातावरण सिर्जना गर्नतर्फ केन्द्रित भएको टिप्पणी गरिन्।
अर्यालले सबै राजनीतिक दल, धार्मिक अगुवा, सामाजिक अभियन्ता तथा सरोकारवालालाई संयमता अपनाउन आग्रह गर्दै उत्तेजना, आवेग र प्रतिशोधको बाटो नअपनाई शान्ति र सद्भाव कायम गर्न आह्वान गरिन्।
देवानगञ्ज घटनामा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको प्रसंग उल्लेख गर्दै उनले सरकारले नैतिक जिम्मेवारी लिनुपर्ने धारणा राखिन्। विगतका यस्तै घटनामा तत्कालीन सरकारका प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्नेहरू अहिले पनि समान मापदण्ड अपनाउन तयार छन् कि छैनन् भन्ने प्रश्न उनले उठाइन्।
देशका विभिन्न स्थानमा तनाव बढिरहेका बेला प्रधानमन्त्री मौन देखिएको आरोप लगाउँदै अर्यालले प्रधानमन्त्री संकटका बेला जनतामाझ उपस्थित हुनुपर्ने बताइन्। उनले सरकार जनताको सुरक्षा सुनिश्चित गर्न र मुलुकमा स्थायित्व कायम गर्न प्रभावकारी ढंगले अघि बढे एमालेले आवश्यक सहयोग गर्न तयार रहेको पनि स्पष्ट पारिन्।
कैलालीको टीकापुर, रौतहटको गौर र नेपालगञ्जलगायतका विगतका घटनाको स्मरण गर्दै अर्यालले यस्ता घटनालाई एउटै दृष्टिकोणबाट हेरी कानुन र न्यायको आधारमा समाधान गर्नुपर्नेमा जोड दिइन्।
उनले सरकारले जनतामा विश्वास र आशा जगाउने योजना अघि सारेमा एमालेले काँधमा काँध मिलाएर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।




















