धनगढी । डोटीमा श्रीमतीमाथि कुटपिट गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। कुटपिटबाट गम्भीर घाइते भएकी उनकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्लाको जोरायल गाउँपालिका–४ देउथलीका ५१ वर्षीय चन्द्रबहादुर ओलीले मादक पदार्थ सेवनपछि ४७ वर्षीया श्रीमती अमृता ओलीमाथि कुटपिट गरेको आरोप लागेको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार बुधबार दिउँसो करिब १:४५ बजे भएको घटनामा अमृता गम्भीर घाइते भएकी थिइन्। उनलाई प्रारम्भिक उपचारका लागि चन्कट्टे स्वास्थ्य चौकी लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रेफर गरिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले चन्द्रबहादुर ओलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। उनी स्थानीय जगदम्बा आधारभूत विद्यालयमा शिक्षकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।


















