काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार भेटका क्रममा सभामुख अर्यालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, संसदीय गतिविधि तथा प्रतिनिधिसभाको कार्य सञ्चालनबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।
यसअघि सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग सिंहदरबारमा भेटवार्ता गरेका थिए। भेटका क्रममा उनले समसामयिक राष्ट्रिय विषयमा प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर धारणा राख्दा सकारात्मक सन्देश जाने सुझाव दिएका थिए।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख अर्यालले आफूले प्रधानमन्त्रीलाई समसामयिक विषयमा संसदमा सम्बोधन गर्न आग्रह गरेको र त्यसको जवाफमा प्रधानमन्त्री शाहले ‘विचार गर्छु’ भनेको जानकारी दिए।
सभामुख अर्यालले पछिल्ला दिनहरूमा संसदको कामकारबाहीलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग पनि छलफललाई तीव्रता दिएका छन्। उनले नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा, प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
यस्तै, मंगलबार सभामुख अर्यालले विभिन्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग पनि छलफल गर्दै प्रतिनिधिसभाको कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने र आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित रूपमा अघि बढाउने विषयमा विचार-विमर्श गरेका थिए।




















