सुनसरी । साउन १० गते दुई समुदायबीच भएको हिंसात्मक झडपपछि तनावग्रस्त बनेको सुनसरीको अवस्था बुधबार दिनभर तुलनात्मक रूपमा शान्त रहे पनि जनजीवन अझै पूर्ण रूपमा सामान्य हुन सकेको छैन।
जिल्ला प्रशासन कार्यालयले मंगलबार राति ९ बजेदेखि लागू गरेको अनिश्चितकालीन कर्फ्यु आदेश बुधबार पनि यथावत् राखिएको छ। दिनभर नयाँ झडप वा हिंसात्मक गतिविधि नभए पनि सुरक्षा सतर्कता भने उच्च तहमा कायम गरिएको छ। निशेषाज्ञा उल्लंघन गर्नेहरुलाई सुरक्षाकर्मीले कारबाही गरेका थिए ।
प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त गस्ती बाक्लो बनाइएको छ। मुख्य सडक तथा संवेदनशील स्थानहरूमा सुरक्षा निकायको उपस्थिति बढाइएको छ भने बाहिर हिँड्ने व्यक्ति तथा सवारीसाधनलाई रोक्दै परिचय र गन्तव्यबारे सोधपुछ गर्ने क्रम जारी रहेको छ।
सुरक्षा निकायले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्थानीयलाई आग्रह गरिरहेका छन्। सम्भावित अप्रिय घटना रोक्न सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको प्रशासनले जनाएको छ।
यसैबीच, घटनाको छानबिनका लागि गठित सरकारी समिति, जिल्ला सुरक्षा समिति र प्रशासनिक टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै मृतक र घाइतेका परिवारसँग भेटघाट गरी घटनाबारे जानकारी संकलन गरिरहेका छन्।
प्रशासनले सामाजिक सद्भाव कायम राख्न अफवाहमा विश्वास नगर्न, संयम अपनाउन र शान्ति–सुरक्षा कायम गर्न सबै पक्षसँग सहयोगको अपिल गरेको छ।



















