विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।
बुधबार बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मृतकका परिवारलाई राहत उपलब्ध गराइने घोषणा गरेका हुन्।
प्रदेश सरकारले घटनामा घाइते भएका प्रत्येकलाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ। साथै, आगजनीबाट घर, पसल तथा अन्य भौतिक क्षति बेहोरेका परिवारलाई पनि जनही ५० हजार रुपैयाँ राहत दिने घोषणा गरिएको छ।
साउन १० गते देवानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारको आयोजनामा बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव, शान्ति–सुरक्षा र साम्प्रदायिक एकता कायम गर्न आठबुँदे निर्णय गरेको छ।
निर्णयअनुसार राजनीतिक दल, सामाजिक संघसंस्था र प्रशासनबीच समन्वयात्मक पहललाई प्रभावकारी बनाइनेछ। पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सामाजिक सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने पनि जनाइएको छ।
त्यसैगरी, स्थानीय प्रशासनसँग समन्वय गरेर समुदायस्तरमा सद्भाव यात्रा, सार्वजनिक अपिल तथा मेलमिलाप प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको छ।
बैठकले सबै धार्मिक समुदायका संघ–संस्थालाई संयुक्त अपिल जारी गर्दै सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेको छ। साथै, सीमावर्ती क्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा सतर्कता अपनाउने र घाइतेको उपचार तथा मृतकका परिवारलाई थप राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरिएको छ।



















