सप्तरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको विरोधमा सप्तरीका विभिन्न स्थानमा प्रदर्शन भएको छ। प्रदर्शनका कारण सदरमुकाम राजविराज र हनुमाननगर बजार बन्द भएका छन्।
प्रदर्शनकारीहरूले तिरहुत गाउँपालिका–४ डिमनस्थित हुलाकी सडक अवरुद्ध पारेर विरोध जनाएका छन्। यसअघि कञ्चनरूप नगरपालिका–११ सिमरा चोकमा युवाहरूले टायर बाल्दै पूर्व–पश्चिम राजमार्गमा केहीबेर चक्काजाम गरेका थिए।
उनीहरूले घटनाको निष्पक्ष छानबिन, घाइतेको निःशुल्क उपचार, पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा दोषीमाथि कानुनबमोजिम कारबाहीको माग गरेका छन्।
यता, सुनसरीको देवानगञ्जमा जारी कर्फ्युको प्रभाव छिमेकी जिल्ला सप्तरीमा पनि देखिन थालेको छ। पूर्वी नाकाबाट हुने ढुवानी प्रभावित हुँदा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा समस्या उत्पन्न भएको व्यवसायीहरूले बताएका छन्।
यसअघि सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम राख्ने विषयमा दुईबुँदे सहमति गरेको थियो। तर, त्यसपछि पनि विभिन्न स्थानमा प्रदर्शन जारी रहेकाले जिल्लाको सुरक्षा अवस्था थप चुनौतीपूर्ण बनेको छ।
आइतबार राति सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको थियो। त्यसयता घटनाको विरोधमा सुनसरीसहित तराई–मधेशका विभिन्न जिल्लामा प्रदर्शन भइरहेको छ।



















