काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन्।
बुधबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग समसामयिक राजनीतिक अवस्था तथा सुनसरी घटनापछि विकसित परिस्थितिबारे छलफल गरेका हुन्।
राष्ट्रपति पौडेलको सचिवालयका अनुसार भेटका क्रममा लामिछानेले सुनसरी घटनाको सन्दर्भमा आयोजित सर्वदलीय बैठकमा भएको छलफल र त्यसबाट आएका निष्कर्षबारे राष्ट्रपतिलाई जानकारी गराएका छन्।
सर्वदलीय बैठक सम्पन्न भएलगत्तै शीतल निवास पुगेका लामिछानेले पछिल्लो राजनीतिक घटनाक्रम, सामाजिक सद्भाव कायम राख्न आवश्यक पहल तथा समसामयिक राष्ट्रिय विषयमा पनि राष्ट्रपतिसँग विचारविमर्श गरेका छन्।
भेटका क्रममा सुनसरी घटनापछि उत्पन्न परिस्थितिलाई संवाद, सहकार्य र आपसी समझदारीमार्फत समाधान गर्नुपर्ने विषयमा समेत छलफल भएको राष्ट्रपति सचिवालयले जनाएको छ।



















