काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा विकसित तनावपूर्ण अवस्था समाधानका लागि प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संवेदनशील परिस्थितिमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्नुपर्नेमा जोड दिएका छन्।
उनले बैठक आयोजना गरेकोमा रास्वपा सभापति लामिछानेलाई धन्यवाद दिँदै विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद् तथा संविधान निर्माणजस्ता जटिल परिस्थितिमा राजनीतिक दलहरूले राष्ट्रिय सहमति र एकताको उदाहरण प्रस्तुत गरेको स्मरण गराए।
“आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक छ,” प्रचण्डको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ।
प्रचण्डले राष्ट्रिय महत्त्वका संवेदनशील विषयमा सरकार साझा समाधान खोज्न प्रभावकारी रूपमा अघि बढ्न नसकेको टिप्पणी गर्दै सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्ने आवश्यकता औँल्याए। उनले संसद्मा सरकारको प्रस्तुति पनि अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको बताए।
उनले बल प्रयोगबाट कुनै पनि समस्याको दीर्घकालीन समाधान सम्भव नहुने उल्लेख गर्दै संवाद, सहमति र राजनीतिक समझदारीमार्फत मात्र वर्तमान परिस्थितिलाई सहज बनाउन सकिने धारणा राखे।
प्रचण्डले आफ्नो पार्टीले सुनसरी घटनाबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक निर्देशनसमेत दिइएको जानकारी दिए।
घटनास्थलमा स्थानीयसँगै बाहिरबाट पनि वातावरण भड्काउने प्रयास हुन सक्ने भन्दै उनले सबै पक्षलाई उच्च सतर्कता अपनाउन आग्रह गरे।
“यो राजनीतिक तिक्तता बढाउने समय होइन, राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय हो,” उनले भने, “घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही हुनुपर्छ।”
प्रचण्डले सरकार, राजनीतिक दल तथा सबै सरोकारवाला पक्षलाई सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकजुट रूपमा अघि बढ्न आह्वान गरेका छन्।




















