काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छैनन्।
सुनसरी घटनालगायत समसामयिक राष्ट्रिय विषयमा छलफल गर्न बोलाइएको बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थिति देखिएको हो। सुनसरीमा भएको घटनापछि सरकारको भूमिका र शान्ति–सुरक्षा व्यवस्थापनलाई लिएर आलोचना भइरहेका बेला आयोजित बैठकमा सरकारका मुख्य जिम्मेवार मन्त्रीहरू सहभागी नभएको विषयलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
सुनसरी घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा प्रदर्शन जारी छ। यस्तै परिस्थितिमा राजनीतिक दलहरूबीच साझा धारणा बनाउन र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले रास्वपाले सर्वदलीय बैठक आयोजना गरेको जनाएको छ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाहलमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका अध्यक्ष आर्यन राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुस्बु ओली तथा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका नेताहरू सहभागी छन्।
बैठकमा सुनसरी घटनापछि विकसित परिस्थिति, सामाजिक सद्भाव, शान्ति–सुरक्षा र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ।




















