काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीसहित पूर्वी जिल्लामा पछिल्लो समय विकसित भएको तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति सुरक्षा कायम गर्न र आम नागरिकको जीउधनको रक्षा गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार विज्ञप्ति जारी गर्दै लामिछानेले सुनसरीलगायत पूर्वी जिल्लामा भएको संवेदनशील र दुःखद घटनाप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले घाइते भएका नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
लामिछानेले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सबै पक्षलाई आग्रह गरेका छन्। उनले अफवाह र उत्तेजनाबाट टाढा रही संयमता अपनाउन नागरिकलाई अपिल गरेका छन्।




















