काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूले केवल एकजना अवैतनिक राजस्व सल्लाहकार मात्र राखेको उल्लेख गर्दै प्रधानमन्त्री तथा अन्य मन्त्रालयहरूमा ठूलो संख्यामा सल्लाहकार नियुक्त गर्ने प्रवृत्तिप्रति टिप्पणी गरेका छन् ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको चर्चा गर्दै आफूले भने राजस्व क्षेत्रलाई प्राथमिकता दिँदै एकजना मात्रै अवैतनिक सल्लाहकार नियुक्त गरेको बताए।
उनले भने, “तपाईंहरूले सुनिराख्नुभएको छ, प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार हुनुहुन्छ। तर मैले केवल एकजना अवैतनिक राजस्व सल्लाहकार मात्र राखेको छु। यसबाट मैले राजस्वको विषयलाई कति महत्त्व दिएको छु भन्ने बुझ्न सक्नुहुन्छ।”
अर्थमन्त्री वाग्लेले राज्यको स्रोत–साधनमा थप व्ययभार पर्ने गरी ठूलो संख्यामा सल्लाहकार नियुक्त गर्ने अभ्यासप्रति असन्तुष्टि पनि व्यक्त गरे।
प्रधानमन्त्री कार्यालयमा सल्लाहकारको संख्या बढेको विषयमा सार्वजनिक रूपमा आलोचना भइरहेका बेला अर्थमन्त्रीको यो अभिव्यक्ति आएको हो। पछिल्लो समय प्रधानमन्त्री र अर्थमन्त्रीबीच सम्बन्ध चिसिएको चर्चा भइरहेका सन्दर्भमा उनको टिप्पणीलाई राजनीतिक रूपमा पनि अर्थपूर्ण रूपमा हेरिएको छ।




















