काठमाडौं । सुनसरीको कोशी कटान क्षेत्रको सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ। विरोध प्रदर्शनका क्रममा विभिन्न स्थानमा रहेका पसलमा तोडफोड, लुटपाट तथा आगजनी भएका छन् भने स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार भएको घटनाको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले पूर्व–पश्चिम राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेका छन्। प्रदर्शनका कारण यातायात सेवा प्रभावित भएको छ।
आइतबार कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। त्यसयता स्थानीय क्षेत्रमा निरन्तर तनाव कायम छ।
घटनापछि अवस्था नियन्त्रणमा लिन स्थानीय प्रशासनले दक्षिणी क्षेत्रका पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्युका बाबजुद सोमबार पनि दिनभर प्रदर्शन जारी रहेपछि प्रशासनले मंगलबार पनि कर्फ्युलाई निरन्तरता दिएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। साथै हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु आदेश यथावत् राखिएको प्रशासनले जनाएको छ।




















