काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। उनले शान्तिसुरक्षा कायम गर्न सरकार असफल भएको आरोप लगाउँदै गृहमन्त्रीले घटनाबारे संसद् र जनतासमक्ष जवाफ दिनुपर्ने माग गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले घटनामा दुई जनाको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
आङ्देम्बेले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्।
उनले शान्ति–सुरक्षा कायम गर्नु सरकारको संवैधानिक दायित्व भएको उल्लेख गर्दै त्यसमा असफल हुनु गृह मन्त्रालयको कमजोरी भएको टिप्पणी गरेका छन्।
उनले भने, “यो घटनाको जवाफ गृहमन्त्रीले दिनुपर्छ। शान्ति–सुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी हो र यसको जिम्मेवारी सरकारले लिनुपर्छ।”
आङ्देम्बेले पछिल्लो समय सरकारप्रति नागरिकको असन्तोष बढ्दै गएको दाबी गर्दै आत्मदाहजस्ता गम्भीर घटना बारम्बार दोहोरिनु त्यसकै संकेत भएको बताएका छन्।
उनले हिंसा, आगजनी, तोडफोड र प्रतिशोधबाट कुनै पनि समस्याको समाधान ननिस्कने भन्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। साथै, अफवाह र उक्साहटबाट टाढा रही संवाद, सहिष्णुता र कानुनी प्रक्रियामार्फत विवाद समाधान गर्न सबैलाई अपिल गरेका छन्।
सुरक्षाकर्मीले पनि कानुनको पालना गर्दै अधिकतम संयमता अपनाई शान्ति र सुरक्षाको वातावरण कायम गर्नुपर्नेमा उनले जोड दिएका छन्।




















