काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै शान्तिसुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ।
सोमबार जारी विज्ञप्तिमा आयोगले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन, मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।
आयोगले सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन पनि अपिल गरेको छ। विवादको समाधान वार्ता र संवादमार्फत खोज्न तथा सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी र सर्वसाधारणलाई सहयोग गर्न अनुरोध गरिएको छ।
आयोगले घटनाबारे मानव अधिकारको दृष्टिकोणबाट अनुसन्धान पनि सुरु गरेको जनाएको छ। विज्ञप्तिअनुसार कोशी प्रदेश कार्यालय, विराटनगरले प्रारम्भिक अनुगमन गरिरहेको छ भने प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयसँग घटनाबारे जानकारी संकलन गरिरहेको छ।
प्रारम्भिक अनुगमनका क्रममा पोलमा झण्डा राख्ने विषयलाई लिएर दुई समुदायबीच विवाद सुरु भएको, त्यसपछि डिजे बजाउने विषयमा तनाव बढ्दै झडपमा परिणत भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा देवानगञ्ज–३ का ओमप्रकाश मेहताको मृत्यु भएको पाइएको आयोगले जनाएको छ।
आयोगका अनुसार घटनामा प्रहरीको गोली लागेर नौ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रारम्भिक अनुगमनबाट खुलेको छ।
आयोगले घटनाको सूक्ष्म अनुसन्धान जारी रहेको र त्यसका आधारमा आवश्यक थप पहल गरिने जनाएको छ।




















