काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र, स्वायत्त शासन प्रणाली तथा भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग गर्दै भदौको अन्तिम सातादेखि सडक आन्दोलनमा उत्रिने तयारी गरेको जनाएको छ।
आइतबार काठमाडौंमा बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले आन्दोलनको तयारी गर्ने निर्णय गरेको पार्टी अध्यक्ष डा. तारानाथ लुइँटेलले जानकारी दिए । उनका अनुसार आन्दोलनको औपचारिक निर्णय भने पार्टीको केन्द्रीय समितिको बैठकबाट गरिनेछ।
अध्यक्ष लुइँटेलले बैठकमा संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र, स्वायत्त शासन प्रणाली र भ्रष्टाचार नियन्त्रणका विषयमा विस्तृत छलफल भएको बताए ।
उनले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा तथा प्रधानमन्त्री बालेन्द्र साहमाथि विदेशी प्रभावमा काम गरिरहेको आरोप पनि लगाए । साथै, मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचारविरुद्धका कारबाही प्रभावकारी हुन नसकेको उनको दाबी थियो।
भ्रष्टाचार नियन्त्रण, संवैधानिक राजसंस्थाको पुनःस्थापना, वैदिक सनातन हिन्दु राष्ट्र र धार्मिक स्वतन्त्रतासहित सर्वधर्म समभावको पक्षमा पार्टी वर्षायाम सकिएलगत्तै आन्दोलनमा उत्रिने अध्यक्ष लुइँटेलले बताए ।




















